स्वास्थ्य कार्यालय, सोलुखुम्बु जिल्लामा गुणस्तरीय, पहुँचयोग्य र प्रभावकारी प्राथमिक स्वास्थ्य सेवा प्रवाह सुनिश्चित गर्न प्रतिबद्ध छ। जिल्ला स्वास्थ्य प्रणाली (District Health System - DHS) लाई प्राथमिक स्वास्थ्य सेवाको आधारभूत संरचनाको रूपमा विश्वव्यापी रूपमा मान्यता दिइएको छ। सन् १९८७ को हरारे सम्मेलनपछि विश्व स्वास्थ्य संगठनले समेत जिल्ला स्वास्थ्य प्रणाली सुदृढीकरणलाई उच्च प्राथमिकता दिँदै आएको छ।
यस प्रणालीले जिल्ला तहमा स्वास्थ्य सेवाको योजना, कार्यान्वयन, सुपरिवेक्षण, अनुगमन तथा मूल्याङ्कनलाई प्रभावकारी बनाउँदै सेवा पहुँच र गुणस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्दछ। साथै, मानव संसाधन, स्रोत व्यवस्थापन तथा अन्तर र अन्तः क्षेत्रीय समन्वयलाई सुदृढ बनाउन पनि यसले सहयोग पुर्याउँछ।
संघीय संरचना लागू भएपछि जिल्ला स्वास्थ्य प्रणालीका कार्यहरू प्रदेश सरकार अन्तर्गत प्रदेश स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायहरू मार्फत सञ्चालन हुँदै आएका छन्। यसले स्वास्थ्य सेवाको विकेन्द्रीकरण, उत्तरदायित्व र प्रभावकारिता बढाउन सहयोग गरेको छ।
स्वास्थ्य कार्यालय, सोलुखुम्बु जिल्लामा सेवा प्रवाह केन्द्रहरूको व्यवस्थापन, स्वास्थ्य जनशक्ति परिचालन, सूचना व्यवस्थापन प्रणाली (HMIS), अनुगमन तथा मूल्याङ्कन, सूचना प्रविधि, र विपद् व्यवस्थापन प्रणालीमार्फत समग्र स्वास्थ्य सेवा सुदृढीकरणमा निरन्तर क्रियाशील छ।
स्वास्थ्य कार्यालय, सोलुखुम्बुको कार्यक्षेत्र (TOR)
- स्वास्थ्य निर्देशनालय अन्तर्गत प्रदेश तथा स्थानीय तहसँग समन्वय, सहजीकरण र सम्पर्क (liaison) गरी प्रदेश सरकारको निर्देशन अनुसार स्वास्थ्य कार्यक्रमहरूको कार्यान्वयन गर्ने।
- जिल्लाभित्र खोप, आवश्यक तथा आकस्मिक औषधि र उपकरणहरूको भण्डारण तथा वितरण योजना तयार गरी गुणस्तरीय व्यवस्थापन सुनिश्चित गर्ने।
- सार्वजनिक स्वास्थ्य विपद् तथा महामारी व्यवस्थापन र रोगवाहक (vector) रोगहरूको निगरानी, नियन्त्रण तथा सहजीकरण गर्ने।
- विभिन्न सार्वजनिक स्वास्थ्य अभियानहरूको सञ्चालनमा सहजीकरण तथा समन्वय गर्ने।
- स्थानीय तह, सेवा प्रदायक संस्था तथा सम्बन्धित सरोकारवालासँग समन्वय गर्ने।
- एकीकृत स्वास्थ्य सूचना प्रणाली (HMIS) को अध्ययन तथा विश्लेषण गरी योजना निर्माण, सहजीकरण तथा स्थानीय तहलाई प्रतिपुष्टि (feedback) प्रदान गर्ने।
- गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच तथा उपयोग वृद्धि गर्न योजना निर्माण, समन्वय र सहजीकरण गर्ने।
- सरकारी, गैरसरकारी, निजी तथा सहकारी स्वास्थ्य संस्थाहरूको नियमन, सुपरिवेक्षण, अनुगमन तथा गुणस्तर सुधार गर्ने।
- स्वास्थ्य जनशक्ति तथा संस्थागत क्षमता विकास (capacity building) सम्बन्धी कार्यहरू सञ्चालन गर्ने।
- प्रदेश सरकारद्वारा तोकिएका विशेष स्वास्थ्य कार्यक्रम तथा नियमित सार्वजनिक स्वास्थ्य कार्यक्रमहरू (जस्तै: क्षयरोग, कुष्ठरोग, परिवार नियोजन, लिम्फ्याटिक फिलेरिया, पोषण, दादुरा/रुबेला खोप तथा अन्य विशेष कार्यक्रम) को समन्वय, सहजीकरण र कार्यान्वयन गर्ने।
- वातावरणीय स्वास्थ्य, सुरक्षित खानेपानी, सरसफाइ तथा व्यवसायजन्य स्वास्थ्य (occupational health) को प्रवर्द्धन र व्यवस्थापन गर्ने।
- जनसंख्या व्यवस्थापन सम्बन्धी कार्यहरू सञ्चालन गर्ने।
- प्रदेश सरकारद्वारा तोकिएका अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रमहरूको कार्यान्वयन गर्ने।
- बहुक्षेत्रीय (multisectoral) समन्वय तथा सहजीकरण गर्ने।
- आन्तरिक प्रशासन (आर्थिक, प्रशासनिक तथा व्यवस्थापन) सम्बन्धी कार्यहरू सम्पादन गर्ने।